१२ श्रावण २०८१, शनिबार

‘गोर्खा वारियर’ को प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा गर्न सबैले सहयोग गर्नुपर्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रदर्शन अन्तर्राष्ट्रिय स्तरमा गर्न हामी सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

हिजो बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन (प्रिमियर ) हेरेपछि अध्यक्ष ओलीले चलचित्र हेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए ।

“यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भने ।

प्रदर्शनीमा एमालेका अध्यक्ष ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीले चलचित्र हेरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए । उनले भने, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि यो चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताए । “हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो । यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भने ।

प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियङ्का कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गरे ।

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको निर्देशक तथा लेखक मिलन चाम्सले बताए । “मैले यस चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु ।

सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एक दशक अगाडि देखिकै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनाका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् ।

उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए । “मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेरेका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भने ।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !