१९ बैशाख २०८१, बुधबार

६० वर्षको उमेरमै अस्ताए गायक रविन तामाङ


रविन तामाङ

काठमाडौं । चर्चित नेपाली गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’ का गायक तथा संगीतकार तामाङकाे हिजो मंगलबार साँझ निधन भएकाे हो ।

६० वर्षीय तामाङकाे काठमाडाैंकाे बुढानीलकण्ठ -५ चिसेनीस्थित निवासमा निधन भएकाे हो । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा राखिएको छ । उनको मृत्युको कारण पोस्टमर्टमबाट खुल्ने बताइएको छ ।

रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए ।

उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । यस्तै चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियो लगायतका गीतहरु उनका हिट् गीतहरू हुन् ।

तामाङले पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् ।रविनले मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रे, छड्केलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !