काठमाडौं । सरकारले ४३ देशमा चलचित्र अवैतनिक दूत नियुक्तिको तयारी गर्ने तयारी गरेको छ । सरकारले विदेशी बजारमा नेपाली चलचित्रको प्रवर्द्धनका लागि अवैतनिक दूत नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो ।
चलचित्र विकास बोर्डको पहलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अवैतनिक दूत नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । बोर्डका अनुसार नेपाली चलचित्रको बजार विस्तार र प्रवर्द्धनका लागि चीनसहित विश्वका ४३ वटा देशमा चलचित्र अवैतनिक दूत नियुक्तिको पहल भइरहेको छ ।
आफ्नो पहलमा सरकार सकारात्मक रहेको विकास बोर्डले जानकारी दिएको छ । यो प्रक्रिया सञ्चार मन्त्रालयबाट निर्णय भएर परराष्ट्र मन्त्रालय पुगिसकेकाले छिट्टै अन्तिम चरणमा पुग्ने अपेक्षा राखेको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालपत्रलाई बताए ।
परराष्ट्र मन्त्रालयले सहमति दिएको खण्डमा सम्बन्धित देशमा रहेका नेपाली चलचित्रकर्मीहरूमध्येबाट एकजना चलचित्र अवैतनिक दूतका रूपमा नियुक्त हुनेछन् । उनीहरूको जिम्मेवारी सम्बन्धित देशमा नेपाली चलचित्रको बजार विस्तार र प्रवर्द्धनका लागि पहल गर्ने रहनेछ ।