१२ आश्विन २०८१, शनिबार

बन्दाबन्दीमा जलविद्युत् निर्माणको काम हुँदै


बन्दाबन्दीमा जलविद्युत् निर्माणको काम हुँदै

खलङ्गा, २१ वैशाख । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणाधीन तिला लघु जलविद्युत्को काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडिने जलविद्युत् गाउँपालिकाको गौरवको अयोजना भएकाले निर्माण थालिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । गाउँपालिकाको समपुरक कोषमा सङ्घीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा रु दुर्ई करोड ८९ लाख र जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यक्रमको रु १० करोड मध्ये रु १२ करोड ५० लाख बराबरको रकम यो वर्ष खर्च हुने गाउँपालिका अध्यक्ष योगीले बताउनुभयो ।

जलविद्युत् निर्माणपछि जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । जलविद्युत् निर्माणको जिम्मा पाएका ठेकेदार साहसी शाहीले चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माण गरी निर्धारित समयमा सम्झौताअनुसार गाउँपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो । जलविद्युत्का महत्वपूर्ण मेसिन लकडाउनले गर्दा नाखा सिमानामा रोकिएकाले काममा समस्या आएको ठेकेदार शाहीले बताउनुभयो ।

सो जलविद्युत् रु १६ करोड लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ । जलविद्युत् निर्माणमा यहाँका स्थानीयवासीले काम पाएपछि भारतलगायत तेस्रो मुलुक जान नपरेको र गाउँमै विकासे निर्माणको काम पाउँदा यहाँका स्थानीयवासीमा खुशी छाएको स्थानीयवासी टोपबहादुर रावतले बताउनुभयो ।

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि तिला लघु जलविद्युत् योजना छनोट गर्नुभएको हो । यहाँका जनताको सबैभन्दा ठूलो समस्या भनेकै विद्युत् भएकाले पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि एक मात्र योजनामा तिला जलविद्युत् निर्माणमा राखेको उहाँले बताउनुभयो ।

गत असोजमा जुम्ला सदरमुकाम खलङ्गा बजार एक महिनासम्म अन्धकार भएपछि सदरमुकाम उज्यालोका लागि सांसद महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा २०० केभी (१६० किलोवाट) डिजेल प्लान्ट मेसिनबाट यहाँका २२ हजार उपभोक्ता र जिल्लाका सरकारी कार्यालयले केही महिनासम्म डिजेट प्लान्टबाट काम चलाएका थिए । सदरमुकाम खलङ्गा बजारले अझै पनि १५ घण्टा लोडसेडिङको मार खेपिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !