काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै भएको बताएका छन् । आज बुधबार पूर्वाधार विकास समितिको बैठकमा मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएको बताए ।
उनले मर्मतसम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ नहुने स्पष्ट पारे । बेलाबेला बिजुली विच्छेद हुने समस्या पहिले पनि रहेको पनि बताए । गत वर्षमा पनि वर्षमा ७०० घण्टासम्म यसरी विभिन्नपटक बिजुली गएको उनको दाबी छ ।
मन्त्री खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् । उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै अनावश्यक दुःख दिन थालिएको बताएका हुन्। उनले नेपालकै विभिन्न ठाउँमा बत्ती गएको भनेर फोन आएपछि बुझ्दा ती ठाउँहरूमा बत्ती नगएको पाइने बताए।
मन्त्री खड्काले विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको जिकिर गरेका छन् । खड्काले प्राधिकरणको वित्तीय अवस्थाबारे अन्यौल भइरहेको अवस्थामा विद्युत प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका हुन् ।
श्वेतपत्रमार्फत प्राधिकरणको अहिलेको वास्तविक अवस्था बाहिर आएको बताउँदै खड्काले अब चाँडै अडिट हुने जानकारी गराए । महालेखाले प्राधिकरण घाटामा रहेको तथ्याङ्क दिने र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले नाफा देखाउने कामले द्विविधा उत्पन्न भएकाले नै सो समयमा अडिट गर्ने निर्णय गर्दा कुलमानले निर्णय कार्यान्वयन गर्न नमानेको उनको भनाइ छ । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको कुरामा सत्यता नरहेको दाबी गरे ।












