काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरुले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्याँस भएको पुष्टि गरेको हो ।
खानी विभागका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्याँस जम्मा भएर बसेकोले त्यसरी माटो र पानीको फोहोरा बाहिर आएको हो । काठमाडौँका विभिन्न ठाउँमा यसअघि पनि बोरिङ खन्ने क्रममा मिथेन ग्यास निस्कने गरेको समाचार सार्वजनिक हुने गरेको थियो ।
विभागका अनुसार कसैले मिथेन ग्यास भएको ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो खालको फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म निस्किको हो । काठमाडौं उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै भएको विभागको भनाइ रहेको छ ।
मिथेन ग्याँसलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने खानी तथा भुगर्भ विभागका अधिकारीले बताएका छन् । स्थानीयका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको छ ।
स्थानीय सन्तवीर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको थियो । बोरिङ खन्ने क्रममा आज सोमबार बिहान बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको थियो ।
आज बिहान निस्किएको माटोको लेदो र पानीसहितको फोहोरा निस्किएपछि अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको थियो । माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरीले जनाएको छ ।