पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न भएपछि परीक्षण गरी जोड्ने तयारी शुरु भएको हो ।
पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको खण्डमा निर्माणको काम सकिएपछि अहिले पुनःपरीक्षणको काम थालिएको आयोजना प्रमुख चन्दनकुमार घोसले जानकारी दिनुभयो । यसअघि दाना सबस्टेशन र खुर्कोट सबस्टेशनमा पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि पुनः दोस्रो अर्थात् अन्तिम चरणको परीक्षण भइरहेको कालीगण्डकी प्रसारण करिडोर आयोजना प्रमुख घोसले बताउनुभयो ।
अहिले पर्वतको तल्लो मोदी १३२ केभी प्रसारण लाइनमा प्राविधिक जाँचलगायतका काम भइरहेको आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले जानकारी दिनुभयो । तल्लो मोदी आसपासका क्षेत्रको अनुगमन तथा बाटोमा पर्ने रुख काट्ने तथा अन्य काम पनि भइरहेको उहाँको भनाइ छ । दाना–खुर्कोट खण्डमा निर्माणका सबै कामलाई अन्तिम चरणमा पु¥याइएको आयोजनाका सहायक निर्देशक भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार खुर्कोटभन्दा अगाडि बुटवलसम्मको खण्डमा पनि आयोजना निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको छ । दानादेखि खुर्कोटसम्म यसअघि नै प्रसारण लाइन निर्माणका लागि आवश्यक टावर निर्माण तथा तार तान्नेलगायत सबै काम सकिएको थियो । दाना र खुर्कोटमा दुई सबस्टेशन तथा त्यसबीचमा ११० टावर निर्माण गरी ३९ दशमलव छ किलोमिटर लामो तार टाँगिएको छ । एशियाली विकास बैंकको रु तीन अर्ब ऋण सहयोग तथा नेपाल सरकारको झण्डै रु ८० करोडको लागतमा खुर्कोट–दाना खण्डमा प्रसारण लाइनको काम गरिएको आयोजनाका सहायक निर्देशक भट्टराईको भनाइ छ ।
कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको हो । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सम्झौता भई आव २०७५÷७६ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि आयोजना सम्पन्न गर्न ढिलाइ भएको थियो ।
निर्माणका क्रममा विभिन्न ठाउँमा बाढीपहिरो, टावर ठड्याउने तथा तार तान्ने ठाउँमा स्थानीयको अवरोध, मुआब्जा वितरणमा समस्या र पछिल्लो समय विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसले गएको चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले तोकिएको समयमै आयोजना सम्पन्न हुन ढिलाइ भएको हो । अब छिटै आयोजनामार्फत बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने तयारी शुरु भएको छ । अहिले विभिन्न जलविद्युत् आयोजनाको विद्युत् गृहबाट उत्पादित विद्युत्लाई दाना सबस्टेशनमा पठाएर जडान गर्ने कामलाई अगाडि बढाइएको छ । सो लाइनमा साविक धौलागिरिका सबै जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान गरिने भएको छ ।