झापा क्षेत्र नं.५ : एमाले अध्यक्ष ओलीको अग्रता - Nepalpatra Nepalpatra झापा क्षेत्र नं.५ : एमाले अध्यक्ष ओलीको अग्रता - Nepalpatra
१३ मंसिर २०७९, मंगलबार

झापा क्षेत्र नं.५ : एमाले अध्यक्ष ओलीको अग्रता


केपी शर्मा ओली र खगेन्द्र अधिकारी

सुरुङ्गा, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् । छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गरेका छन् ।

गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गरे । झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।

२ र ४ मा स्वतन्त्र अगाडि

झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना शुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन । मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए ।

झापा १ मा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत), झापा ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका शम्भु ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन् ।

झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार ‘स्वागत’ नेपालले अग्रता लिएका छन् । नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा (एमाले) का देवराज घिमिरेलाई पछि पारेका छन् । झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । दुई हजार मत गनिसक्दा लिङ्देनले एक हजार तीन मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले सात सय ८४ मत ल्याए । दुवैबीचको मतान्तर दुई सय १९ हो ।

अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ । झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बनाएका छन् । तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले एक सय ४३ मत ल्याए । एमालेका उम्मेदवार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएका छन् ।

यता झापा ५ मा मतगणना प्रारम्भ भएको छ । मध्याह्न १२ बजेदेखि मतगणनाका लागि मतपत्र मिलाउने कामको प्रारम्भ गरिएको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !