१२ बैशाख २०८१, बुधबार

एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन


एसईई परीक्षा

दुल्लू, ८ वैशाख। एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र स्थानीय तहको समन्वयमा आइतबारदेखि कार्यक्रम शुरु गरिएको हो । दूरशिक्षा रेडियो कार्यक्रम प्रत्येक हप्ताको आइतबार र बुधबार अङ्ग्रेजी, सोमबार र बिहीबार गणित तथा मङ्गलबार र शुक्रबार विज्ञान विषय शिक्षण गरिने शिक्षा एकाइका प्रमुख तेजबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने हुँदा रेडियोबाट कार्यक्रम गरिएको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि कमजोर भएको कारण एसइई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको हो, थापाले भन्नुभयो । दूरशिक्षा रेडियो कार्यक्रम बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले बताउनुभयो ।

यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाइलेखाइलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम शुरु भएको छ । बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएममा हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालनमा रहेका यी दुई रेडियो दैलेखलगायत आसपासका जिल्लाहरूमा सुन्न सकिने भएकाले यस कार्यक्रमको प्रभावकारिता अझ धेरै रहेको ज्वाला एफएम रेडियो दैलेखका स्टेशन म्यानेजर पृथ बयलकोटीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !