९ मंसिर २०८१, आइतबार

जनप्रतिनिधिको तलब शिक्षामा


Nepalpatra

२६ वैशाख, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट रु ७८ हजार सहयोग गर्नुभएको हो ।

प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने रु ७८ हजारमध्ये रु ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गर्नुभएको छ ।

माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका पोखेरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको रु दश हजार मासिकरूपमा प्राथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।” उहाँका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक रुपमा रु २६÷२६ हजार सहयोग गरिनेछ ।

बन्दीपुर गाउँपालिका वडा नं १ मा तीन प्राथमिक विद्यालय सञ्चालनमा छन् । ती सबै विद्यालयलाई आफू जनप्रतिनिधिमा बहाल रहेसम्म आर्थिक सहयोग गर्ने वडाध्यक्ष पोखरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही जनप्रतिनिधिको गतिविधिका कारण समग्र जनप्रतिनिधिलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । सबै जनप्रतिनिधि खराब छैनन् भन्ने सचेतना जगाउनु मेरो उद्देश्य हो ।”

जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव पोखरेलले वडाध्यक्षको सहयोगले निजी दरबन्दीमा शिक्षक राख्न र विद्यालयको शैक्षिक सुधारमा टेवा मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयसँग ठूलो स्रोत छैन । वडाध्यक्षको सहयोगले विद्यालय प्रशासनलाई राहत मिलेको छ ।”(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !