८ मंसिर २०८१, शनिबार

संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा


पर्वत

२८ भदौ, कुश्मा, पर्वत । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ ।

संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै आएको भएता पनि उपल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो ।

विसं २०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको मान्यता स्वीकृत दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृत प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४, ५ र ६ को मात्र पढाइ सञ्चालन हुने गरेको छ ।

जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको एकमात्र संस्कृत विद्यालयप्रति तत्कालीन जिल्ला शिक्षा कार्यालयअनुसार भएकै कारण उपल्लो कक्षाको स्वीकृति दिन आनाकानी भएको स्थानीयको गुनासो रहेको छ । “कक्षा १० सम्मको अनुमति मागेका थियौँ तर कार्यालयले दिन आनाकानी र बहानामात्र गरिरह्यो ।” कुश्मा–५ निवासी कमलनाथ पोख्रेलले भन्नुभयो, “जिल्लाको गहनाका रुपमा रहेको संस्कृत पाठशालालाई स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारमा ध्यान दिनसक्ने हो भने संस्कृत पठनपाठनमा रुची भएका विद्यार्थीसमेत बढ्ने थिए ।”

“कक्षा १० सम्मको अनुमति मागेको भए पनि बल्लतल्ल कक्षा ६ सम्म अनुमति पाइएको छ ।” संस्कृत पाठशालाका गुरु पद्मराम उपाध्यायले भन्नुभयो, “पुराना शिलालेख, ऐतिहासिक दस्तावेजसमेत संस्कृत भाषामा नै हुने भएकाले संस्कृत शिक्षाका लागि राज्य उदासीन हुनु हुँदैन ।” उहाँले थप्नुभयो, “नेपाली भाषा, हिन्दी भाषासमेत संस्कृत भाषासँग परिपूरक छन् । त्यसैले सबै भाषाको जगेर्ना गर्ने बेला भइरहेको र अत्यावश्यक भाषालाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

राज्यले मातृभाषालाई मान्यता दिने र संरक्षण गर्ने भन्दै आएको भए पनि माओवादी द्वन्द्वकालदेखि उपेक्षा गरिँदै आएको आरोप लाग्दै आएको छ । “संस्कृत विषयको पठनपाठन र शिक्षालाई जोगाउनेतर्फ राज्यनै उदासीन रहेकाले विद्यार्थीले दुःख झेल्नु परेको स्थानीय एकता युवा क्लबका निवर्तमान अध्यक्ष अच्युत तिवारीले बताउनुभयो । उहाँले विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न र जिल्ला जिल्लामा रहेका संस्कृत पाठशालाको संरक्षण गर्नसके मात्र इतिहासको संरक्षण हुने जिकिर गर्नुभयो ।

नेपाली भाषामा समेत धेरै शब्द संस्कृत भाषाबाटै आयातित भएका र संस्कृत भाषामा पुराना ग्रन्थ तथा लेखोटसमेत रहेकाले इतिहासको संरक्षण गर्न र मातृ भाषालाई बलियो बनाउनसमेत यो भाषाको संरक्षण गर्नुपर्ने तर्क स्थानीयको रहेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट व्यवहारिकता हेरेरमात्रै कक्षा ६ सम्मको स्वीकृति दिएको भए पनि कक्षा ७ सम्म पढाइ सञ्चालन भइरहेको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृतका विषयमात्र पढाउने पाठशालालाई यहाँबाट स्वीकृत दिने नीति राज्यको छैन । तर गुप्तेश्वरमा सबै विषय पढाउने भनी व्यवहारिकता हेरेर अनुमति दिइएको छ । त्योभन्दा माथिल्लो कक्षाको स्वीकृति लिने हो भने मन्त्रालयसम्म गएर ध्यानाकर्षण गराउनुपर्छ ।”

जिल्लामै एकमात्र संस्कृत विद्यालयका रुपमा कुश्मामा अवस्थित यो संस्कृत पाठशालालाई कक्षा १० सम्मकै मान्यता दिलाउन अत्यन्त आवश्यक रहेको भए पनि त्यसो हुन नसक्दा मावि तहको पढाइ गरेर पनि प्रमाणपत्र तल्लो तहकै लिनुपर्ने बाध्यता रहेको हो ।

नागाबाबा पशुपति गिरी र नागाबाबा विष्णु गिरीलगायत स्थानीय कुश्मावासीको अगुवाइमा स्थापना भएको यस वेदवेदाङ्ग संस्कृत पाठशालामा पढ्ने अधिकांंश विद्यार्थी हाल उपल्लो तहको प्रमाणपत्रकै लागि भारतको अयोध्या, बृन्दावन, हरिद्वार र वनारसलगायतका स्थानमा जान बाध्य भएका छन् ।

हाल उक्त पाठशालामा चार शिक्षक र २६ विद्यार्थी रहेका छन् । अहिले संस्कृत शिक्षाका अलवा अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली भाषासमेत विद्यालयमा पठाइने गरेको विद्यालयका गुरु (प्रधानाध्यापक) पद्मराम उपाध्यायले जानकारी गराउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !