काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
निजी विद्यालय सञ्चालक संस्थाहरूले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी आज दिएका हुन् ।
आज बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।
संयुक्त आन्दोलनका कार्यक्रमअन्तर्गत १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा देशभर स्कुलबसमा कालो झण्डा र ब्यानरसहित ज्याली प्रदर्शन गर्ने, १८ भदौमा पुनः बृहत खबरदारी सभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।












