
काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
बोर्डले आज शुक्रबार साँझ २०८१ सालको एसईईको नतिजा प्रकाशित गरेको हो । योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।