२५ पुस २०८१, बिहीबार

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति दिइने


Nepalpatra

२५ असार, सुर्खेत । कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो ।

सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चार र आइसिटी मेरिट स्कलरसिपबाट तीन जना गरी एक प्रदेशबाट सातजनालाई छात्रवृत्ति प्रदान गरिने जनाउनुभयो । “छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेशियाको एशिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँमा स्नातक तहअन्तर्गत बिएस्सी आइटीको अध्ययन गर्न पाउने छन्,” उहाँले भन्नुभयो ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सोसरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत ल्याएकाले आवेदन दिन पाउने जनाउनुभयो । त्यसको साथै सिटिइभिटीबाट कम्प्यूटर इञ्जिनियङिमा स्नातक गरेकाले पनि छात्रवृत्तिका लागि दरखास्त हाल्न पाउने उहाँले बताउनुभयो ।

छात्रवृत्तिका लागि साउन ९ गतेसम्म अन्तिम मिति राखेको क्यान महासंघले केन्द्र प्रदेश र जिल्लास्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने जनाएको छ । कार्यक्रममा कर्णालीका दुर्गम जिल्लाका गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !