१७ असार २०८१, सोमबार

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण एकजना


राजपुर गाउँपालिका

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।

सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट नौ, बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।

माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए ।

“हामीले शिक्षामा धेरै लगानी गर्यौं, उनले भने, “तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।” आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !