१८ बैशाख २०८१, मंगलबार

त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त


प्रा. डा. खड्क केसी र प्रा.डा. केदार रिजाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा. डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई आज नियुक्त गरेका हुन् ।

गत फागुन १० गते सरकारले प्रा. डा. बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले नियुक्ति अघिदेखि नै आफूलाई टिम बनाउन दिनुपर्ने सर्त राखेका थिए ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

उपकुलपति बरालले चैत १५ गते रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गर्ने सिफारिस गरेतापनि लामो समयसम्म नियुक्त नभएपछि जनस्तरबाटै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भएको थियो ।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति प्रधानमन्त्रीले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !