२४ पुस २०८१, बुधबार

प्रदेश सरकारको सहयोगमा बबिताले पढ्न पाइन्


education

२० जेठ, महोत्तरी । प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् ।

शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको सीमा थिएन् ।

दलित समुदायकी बबिताको घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि भाइबहिनीलाई मजदूरी गरेर पनि पालनपोषण गर्दै आएकी थिइन् । स्थानीय आधारभूत विद्यालयमा कक्षा ५
सम्म अध्ययन गरेकी बबिताले वीचमै पढाइलेखाइ छोडेकी थिइन् । आमाको मृत्यु भएपछि स साना भाइबहिनीको स्याहारसुहारको जिम्मेवारी आफूमाथि परेपछि आफू जेनतेन गर्दै परिवार पाल्दै आएकी बबिताले बताइन् ।

बबिताले भनिन्– “बुबाले घरघरमा गएर भिक्षा मागेर ल्याएपछि पेट भर्ने काम गर्छु हजुर । घर भत्किएको छ । पानी पर्दा त भिज्दै बस्नुपर्ने अवस्था सिर्जना हुन्छ ।” उनी बस्दै आएको खरले छाएको फुसको सानो घर पनि भत्किएको छ ।

विभिन्न सञ्चारमाध्यममा खबर प्रकाशित भएपछि आफूले प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग यससम्बन्धमा कुराकानी गर्दा उहाँले बबिताको पढाइको खर्च प्रदेश सरकारले लिने जनाएपछि आफू उनलाई भेट्नको लागि घरमै आएकी सांसद तिवारीले बताउनुभयो ।

प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानलाई सार्थकता तुल्याउनको लागि यो सुनौलो मौका रहेकाले प्रदेशभित्र रहेका एक जेहेन्दार विद्यार्थीलाई हामीले कदापि गुमाउन नसक्ने भन्दै तत्काल बालिकाको घरमै पुगेर सो कार्य गरेको सांसद तिवारीले बताउनुभयो ।

रामगोपालपुर नगरपालिकाले बबिता र उनका तीन भाइबहिनीलाई तत्काल कापी, कलम र ब्यागसमेत उपहारस्वरुप दिएका छन् । यस सम्बन्धमा नगरप्रमुख अशोककुमार मण्डलले जन्मदर्तालगायतका कागजात दुरुस्त गरेर बबिता र उनका भाइबहिनीलाई विद्यालयमा भर्ना गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बबिता बस्दै आएको घर तत्काल मर्मत गर्न आवश्यक रहेकाले त्रिपाल सहयोग गर्ने र पछि आवश्यक देखिएको सबै सहयोग गर्ने नगरप्रमुख मण्डलले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !