२२ बैशाख २०८१, शनिबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक


एसइई परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा आज दिउँसो सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए (ए प्लस) ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

यस्तै सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउनेको संख्या १ लाख २ हजार २९३ छ । त्यस्तै एसईईमा १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था रहेको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

एसइईको नतिजा सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !