१३ आश्विन २०८१, आइतबार

अदालतको आदेशपछि हिसान शैक्षिक मेला आजदेखि पुनः सञ्चालन


हिसान शैक्षिक मेला

काठमाडौँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आज असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) संचालन भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए।

बुधबारको अन्तरिम आदेशसँगै अब मेला असार ८, ९ र १० गते पुनःसञ्चालन हुने भएको हो । महानरपालिकाले लिखित जानकारीबिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए ।

मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ । मेलामा प्रवेश निःशुःल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !