८ बैशाख २०८१, शनिबार

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या


अटिजम पाठशाला

रेसुङ्गा । गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् ।

पाल्पाबाट बुटवल जानुभएकी सुकमाया छोरालाई पढाउन गुल्मी आउनुपर्यो । “बच्चामा समस्या देखिएपछि मैले बाँधेर राख्ने र कोठामा थुन्ने गर्थें”, उनी भन्छिन्, “गुल्मीमा यस्तो पाठशाला छ भनेपछि म यहीँ आएँ”, उनले भनिन् । शिक्षक नहुँदा आफू दिनभर पाठशालामै बस्न बाध्य हुनुपरेको उनले बताइन् । शिक्षकसँगै आवाससहितको सुविधा भएमा धेरै राहत हुने सुकमायाको भनाइ छ ।

गुल्मीको रुरुक्षेत्र–१ की रीता पाण्डे पौडेल पनि आफ्नो सन्तानले अस्वाभाविक क्रिया देखाएपछि पिरलोमा थिइन् । समस्या पहिचान नभएपछि सन्तानलाई घरमै राख्न बाध्य भएकी उनी अटिजम पाठशालाको सम्पर्कमा आएपछि राहत मिलेको छ । बच्चालाई लिएर आएका अभिभावकले एकापसमा सिकाउँदा अटिजम भएका बालबालिकाको सिकाइमा केही परिवर्तन आए पनि शिक्षक नहुँदा आफूहरूलाई समस्या देखिएको पाण्डेले बताइन् ।

अभिभावक सुकमाया, रीता र अर्की विमला परियारले स्वयंसेवकका रूपमा अन्य बालबालिकाको सिकाइलाई सहजीकरण गर्दै आएकी छिन् । अटिजम मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सीप, सञ्चारसम्बन्धी सीप र सिकाइको क्षमता कम हुन्छ ।

रुरुक्षेत्रका अगुवा स्थानीय समाजसेवीको पहलमा विसं २०७४ अटिजम पाठशाला नेपाल स्थापना भएको थियो । पाठशालामा अहिले १४ जना अटिजम भएका बालबालिका सिकाइका लागि आउँछन् ।

यसअघि लुम्बिनी प्रदेश र रुरुक्षेत्र गाउँपालिकाको कूल रु ६० लाख सहयोगमा पाँच कोठाको भवन पाठशालाका लागि बनेको छ । पाठशालामा शिक्षक नभएपछि तीनजना अभिभावकले एकापसमा बालबालिकालाई सिकाउँदै आएकी छिन् । उनीहरूलाई पाठशालाले स्वयंसेवक शिक्षक भनेको छ ।

अटिजम पाठशाला नेपालकी अध्यक्ष अमृता भण्डारी पाठशालामा शौचालयको अभाव, भान्साकोठाको अभाव र शिक्षक नहुँदा समस्या झेल्नुपरेको बताउछिन् । “अगुवा समाजसेवीको पहलमा हामीले अटिजम पाठशाला खोलेपछि त्यस्ता बालबालिका र उनका अभिभावकलाई राहत भएको छ”, उनी भन्छिन्, “राज्य तहबाट कुनै शिक्षक नहुँदा हामीले निकै सास्ती खेप्नुपरेको छ ।”

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरि ज्ञवालीले गाउँपालिकाका तर्फबाट पाठशालामा सहयोग रहने बताए । उनले छिट्टै शिक्षक कर्मचारीको अभाव नहुने गरी व्यवस्थापन गर्ने र माथिल्लो निकायमा पनि शिक्षकका लागि पहल गर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !