२४ पुस २०८१, बुधबार

सामुदायीक महिला भवनवाट विद्यालय सञ्चालन


education

२ जेठ, पाल्पा । खुला आकाशमुनि पठनपाठन भइरहेको पाल्पा रामपुर नगरपालिका–२ को कालिका प्राथमिक विद्यालयले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पठनपाठन शुरु गरेको छ ।

गत वैशाख १९ गते राससमा ‘विद्यालय सारेर खुला आकाशमुनि पढाई’ भन्ने समाचार प्रकाशन भएपछि त्यसको प्रभावका कारण विद्यालयले अहिले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पढाउन थालेको हो ।

समाचारको प्रभावकै कारण खुला आकाशमुनि विद्यार्थी राखेर नपढाउन सरोकारवाला निकायले दिएको सुझावलाई मनन गर्दै विद्यालयले अहिले स्थानीय सामुदायिक महिला भवनमा विद्यार्थी राखेर कक्षा सञ्चालन गरिरहेको छ ।

दुईवटा कोठामा कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई समूह समूह बनाएर दुःख सुखसँग पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“विद्यालयको टहरा निर्माण कार्य भइरहेको छ, टहरा सम्पन्न नहुँदासम्म विद्यालय नजिकै रहेको स्थानीय सामुदायिक महिला भवनका दुईवटा कोठामा सबै कक्षा सञ्चालन गरेका छौँ”– “टहरा निर्माण सम्पन्न नहँुदासम्म घामपानीबाट ओत लाग्नका लागि मिलाएर पढाइएको छ” उहाँले भन्नुभयो ।

अहिले ४५ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । गत वर्षको विद्यार्थी भर्नादरको तुलनामा यस वर्ष ठूलो संख्यामा विद्यार्थी थपिएका छन् । गत वर्ष आठजना विद्यार्थी मात्र रहेका थिए ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !