१३ बैशाख २०८१, बिहिबार

पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो


विद्यार्थी

भजनी । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थाल्नुभएको धेरै भएको छैन । छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उहाँलाई निकै चिन्ता हुन्थ्यो । उहाँको त्यो चिन्ता धेरै दिन रहेन ।

नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उहाँ आफैँ चकित हुनुहुन्छ । “छोराले पहिले पढाइमा त्यति रुचि राख्दैनथ्यो । उसको पढाइ अन्य शिशुका तुलनामा कमजोर थियो”,उहाँले भन्नुभयो, “आजभोलि आफैँ लेख्न र पढ्न जान्ने भएको छ । उसमा आएको परिवर्तन देख्दा म आफँै चकित छु । ” उहाँले छोराले पढाइ शिविरमा यति सजिलै सिक्न र पढ्न थाल्नेछ भन्ने नसोचेको बताउनुभयो ।

बालकल्याण सङ्घ र वल्र्डभिजन इन्टरनेशनल नेपालका साझेदारीमा बाल स्पोन्सरसिप यी परियोजनामा कैलाली जिल्लाका छ हजार १२० बालबालिका जोडिएका छन् । परियोजनाले पढाइ शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा बालबालिकालाई सहयोग गर्दै आएको छ । टीकापुरमा २० र भजनी नगरपालिकामा २५ पढाइ शिविर सञ्चालनमा छन् । ती शिविरमा एक हजार ९२ बालबालिका आबद्ध छन् । परियोजनाका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले ती बालबालिकाका अतिविपन्न परिवारका रहेकोे जानकारी दिनुभयो ।

“बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले समुदायमा पढाइ शिविर सञ्चालन गरेका थियौँ । पढाइ शिविर धेरै प्रभावकारी बन्न पुग्यो”, उहाँले भन्नुभयो, “अहिले विद्यालय बन्द रहेका अवस्थामा पनि सहजकर्ताले घर–घरमा पुगेर पुस्तक वितरण गर्ने, बालबालिकाको अवस्था बुझ्ने र स्वास्थ्य सामग्री दिने काम गर्दै आउनुभएको छ ।”

घोडाघोडी नगरपालिका–११ की सपना चौधरीले गत पुस महिनामा किशोरकिशोरीलाई लक्ष्य गरी गरिएको रुपान्तरण कक्षाबारे १० दिने तालिम लिने अवसर पाउनुभयो । सो अवसरमा उहाँले लैङ्गिक असमानता, किशोरकिशोरीका समस्या, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवनोपयोगी सीप र बचत तथा ऋणका बारेमा राम्रोसँग बुझ्ने मौका पाउनुभयो ।

“तालिमले मलाई सक्षम बनाएको छ । आत्मविश्वास बढाएको छ”, उहाँले भन्नुभयो, “अहिले किशोरीमा भइरहेका विभेदका घटना, युवा सशक्तीकरण र सामुदायिक सहभागितामा प्रत्यक्ष सहभागिता जनाउन सक्छौँ र त्यसको आफ्ना कुरा राख्न सक्ने भएका छौँ । ” अहिले उहाँले आफ्नो समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्दै आउनुभएको छ । समुदायका अन्य किशोरकिशोरीलाई पनि रुपान्तरणका लागि उहाँले सक्रियताका साथ काम गर्दै आउनुभएको छ । टीकापुर, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको १४ वडामा २८ ठाउँमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ४३० युवायुवती सहभागी छन् । उनीहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई समुदायका अन्य युवायुवतीलाई समेत सिकाउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !