१५ बैशाख २०८१, शनिबार

हुन सकेन विश्वविद्यालय सभा


Agriculture and forestry University

चितवन । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यसाथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन ।

नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ । राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्तता पछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर नै विश्वविद्यालय सभा नभइ बितेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताउनुभयो । गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सरेको भन्दै उहाँले त्यसपछि हालसम्म हुन नसकेको बताउनुभयो । कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उहाँको भनाइ छ ।

विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको भन्दै उहाँले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताउनुभयो । विश्वविद्यालयमा वार्षिक बजेट रु ६९ करोडको हाराहारीमा हुने गर्दछ । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्य रेग्मीपछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउनुहुन्छ । विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिष्ट्रारको हुने भए पनि उहाँको स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कुलपतिको समय मिलाउन नसक्दा सभा हुन नसकेको रेग्मीको भनाइ छ । आउदो साउनमा सभा गरेर दुई वर्षको बजेट तथा कार्यक्रम एकै पटक स्वीकृत गर्ने उहाँले जानकारी दिनुभयो । यस विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन् । उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाइ छ ।

विश्वविद्यालयभित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान सङ्कायका डिन प्रा डा बलराम भट्ट बताउनुहुन्छ । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दाे विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुनसक्ने बताउनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !