काठमाडौँ । देशभर आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ ।
कोभिड-१९ का कारण नियमित नयाँ शैक्षिक सत्र २ महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार-प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेअनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो ।
नयाँ शैक्षिक सत्र शुरु भएसँगै कोरोना सङ्क्रमणको कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको पढाइलाई निरन्तरता दिइनेछ ।
अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ । असार १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।
सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने यस अघि नै निर्णय गरेको थियो । भौतिक उपस्थिति विना अध्ययन अध्यापन त्यति प्रभावकारी नभएको शिक्षाविदहरुको भनाइ रहेको छ ।
त्यसो त ग्रामीण भेगका कतिपय विद्यार्थी अझैपनि इन्टरनेटको पहूँचभन्दा बाहिर छन । उनीहरुको करिव डेढ बर्षको पढाइ छुटेको भएपनि वैकल्पिक उपायहरुको खोजि भएको छैन । शहरका विद्यार्थीहरको पढाइ भएपनि प्रभावकारी नभएको गुनासो स्वयं अभिभावकहरुले नै गर्दै आएका छन ।