७ मंसिर २०८१, शुक्रबार

वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस


सीसीएमसी बैठक फाइल फोटो

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको हो ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको हो । नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएकोले सोही अनुसारको सिफारिस सीसीएमसीले गरेको हो ।

सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी संचालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद्को आगामी बस्ने बैठकबाटै हुनेछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो ।

सिसिएमसीको बैठकले कोभिड-१९ को दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएको छ। पहिलेको भन्दा अहिलेको कोरोना भाइरस छिटै फैलिन सक्ने भएकाले सोही अनुसार प्रतिकार्यमा जुट्न निर्देशन दिइएको हो ।

रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !