११ श्रावण २०८१, शुक्रबार

भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा आवश्यक


प्राविधिक शिक्षा

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा गाउँपालिकाको भएका बताउनुभयो । शिक्षालाई गुणस्तरयुक्त बनाउन प्राप्त सूचना प्रविधिको सुविधालाई अवलम्बन गरेर अगाडि बढ्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सो क्रममा उहाँले स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निजी आवास पुनःनिर्माणको काम भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो । लाभग्राहीले नयाँ घर पनि बनाउने र पुराना घर पनि जस्ताको त्यस्तै राख्ने गरेको कारण त्यसबाट भोलिको दिनमा हुनसक्ने जोखिमलाई ध्यान दिँदै तत्काल त्यस्ता पुराना घर भत्काउन उहाँले आग्रह गर्नुभयो । पहिलो किस्ताबापतको रु ५० हजार रकम लिएर खल्तीमा राख्दै घर नबनाउने हो भने पछि अप्ठ्यारोमा पर्ने भएकाले त्यसो नगर्न सरकारले थपेको समयसीमाभित्र काम सम्पन्न गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाभग्राहीलाई आग्रह गर्नुभयो । उहाँले गुम्बा मर्मतसम्भार गर्ने काम बाँकी रहेको खण्डमा यस आर्थिक वर्षमा सम्पन्न गर्ने बताउनुभयो । पहिलो वर्षमा एक सय वर्ष अगाडिको पुरातात्विक महत्वका गुम्बाको निर्माण गर्ने र त्यसपछि सय वर्षभन्दा पछि बनाएको गुम्बा बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य रत्न ढकालले एक विद्यालय एक नर्सको कार्यक्रम ग्रामोन्नतिमा पनि शुरु हुन लागेको बताउनुभयो । सो विद्यालयको लागि ल्याबको व्यवस्थापन छिट्टै पूरा गर्ने उहाँको भनाइ थियो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले अहिले विद्यालय पुनःनिर्माण र निजी आवास निर्माणसँगै गुम्बा पुनःनिर्माणको काममा अनुदानको व्यवस्था नगरेका कारण ढिलाइ भइरहेको बताउनुहुँदै त्यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ध्यान दिन आग्रह गर्नुभयो । महाभारत गाउँपालिकामा करिब ८७ प्रतिशत निजी घर पुनःनिर्माण भइसकेको उहाँले बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोक प्रमुख देवकुमार बरालले ५८७ वडा विद्यालय रहेकोमा कतिपय विद्यालय गाभिसकेको कारण जिल्लाको करिब ९० प्रतिशत विद्यालय भवन निर्माण भइसकेको बताउनुभयो । अहिलेसम्ममा ५३७ वटा विद्यालय भवन निर्माण भइसकेको र कतिपय निर्माणको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । सो क्रममा उहाँले दोस्रो चरणमा बन्ने विद्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको र तेस्रो चरणको भने छनोट प्रक्रियामा रहेको बताउनुभयो ।

नेपाल सरकारको लगानी र दातृ निकाय एशियाली विकास बैंक(एडिबी) को ऋण सहयोगमा रु ११ करोड ७० लाखमा निर्माण गरिएको सो भवन डाँडापारि क्षेत्रको नै अहिलेसम्मको सुविधा सम्पन्न भवन हो । कार्यक्रममा सम्पन्न भएको विद्यालय भवन निर्माण कम्पनीबाट केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)लाई हस्तान्तरण गर्दै क्रमशः गाउँपालिका र गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

यसैबीच राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकार अधिकृत ज्ञवालीले नमोबुद्ध नगरपालिका–८ दाप्चामा रहेको श्री दाप्चा माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको अनुगमन गर्नुभएको छ । नेपाल सरकारको लगानी र दातृ निकाय एशियाली विकास बैंक(एडिबी) को ऋण सहयोगमा निर्माण भएको सो विद्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !