६ पुस २०८१, शनिबार

दशैँ तिहार बिदामा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो


रानीमहल

कार्तिक १, काठमाडौँ | तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ । रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् ।

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल मानिने रानीमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएको रानीमहल पर्यटकका लागि आकर्षणको लोभलाग्दो सम्पदा हो । वर्षामा बिग्रिएका सडक मर्मत भई पूर्णरुपमा सडक सुचारु भएसँगै रानीमहल पुग्ने आन्तरिक तथा बाहय पर्यटक बढेका हुन् । पर्यटकको आवागमनमा वृद्धि भएसँगै रानीमहलमा चहलपहल बढेको हो ।

दशैँअघिसम्म पर्यटक शून्यजस्तो देखिए पनि अहिले दैनिक ३०० जनासम्म आन्तरिक पर्यटक आउने गर्दछन् । बाह्यभन्दा आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी वसन्त कुँवरले बताउनुभयो । अस्थायी प्रहरी बिट, रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीका अनुसार सडक सुचारु भएपछि शुक्रबार र शनिबार बढी मात्रामा स्कुले विद्यार्थीको ओइरो लाग्ने गरेको छ ।

कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । साउन, भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको सडक पूर्णरुपमा सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढेको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो । पाल्पा गौँडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी पाँच वर्षमा निर्माण कार्य पूरा भएको थियो । विसं १९५४ मा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका रुपमा परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य रहेकाले पर्यटकको ओइरो लाग्ने गर्दछ ।

डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि साना सवारीसाधन सहजरुपमा रानीमहल पुगिरहेकोे इञ्जिनियर पवित्रमणि आचार्यले बताउनुभयो । सात किलोमिटर सडक यसै वर्ष कालोपत्रे तथा पाँच किलोमिटर सडक ग्राभेल हुनेछ । हाल तानसेनदेखि रानीमहलसम्म एउटामात्र जिप सञ्चालनमा रहेको छ । अन्य निजि तथा साना भ्यान, कार तथा स्कार्पिओ गाडी ताजमहलसम्म पुग्न थालेपछि पर्यटक गत वर्षभन्दा बढेको स्थानीय बासिन्दा सुरेश पाण्डेयले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीलाई विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा लिइन्छ । उत्तरबाहिनी नदीको पानीमा हातमुख धुँदा मात्र पनि मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलावा धार्मिक पर्यटक भ्रमण गर्न र प्रकृतिसँग रमाउन रानीमहल पुग्ने र कालीगण्डकी नदीमा पौडी खेलेर मनोरञ्जन लिनका लागि समेत पर्यटक आकर्षित बनेका छन् । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसकेमा रानीमहलको महत्व अझ बढ्ने स्थानीय बासिन्दा बताउँछन् । यहाँ पर्यटक बढेपछि पाल्पाका होटल व्यवसायीसमेत अहिले खुशी छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !