५ जेष्ठ २०८१, शनिबार

अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक


अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक

९ बैशाख, काठमाडौं । अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक शून्यभन्दा पनि तल अथवा ऋणात्मक भएको छ । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम भएकाले तेलको मूल्यमा भारी गिराट आएको बीबीसीले जानेको छ ।

यसको अर्थ तेल उत्पादकहरुले आफ्नो उत्पादन बिक्री गर्नका लागि खरिदकर्तालाई उल्टै पैसा दिएर तेल किन्न अनुरोध गरिरहेका छन् किनभने उनीहरुलाई अब डर छ कि अब तेल बिकेन भने भण्डारणको समस्या बढ्छ । भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकले आफै पैसा तिरेर तेल बिक्री गर्न बाध्य भएका हुन् ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि विश्वभर लागु भएको लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । यसले गर्दा तेलको माग लगभग शून्य प्रायः भएको छ । यसले गर्दा तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् ।

अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक घेरामा गएको हो । तेलको मूल्यमा ऐतिहासिक गिरावट आउनु धेरैजसोका लागि चासोको विषय भएको भन्दै ट्रम्पले अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने दाबीसमेत गरेका छन् ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) मा तेलको मूल्य माइनस ३७.६३ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !