३१ भाद्र २०८१, सोमबार

सात प्रतिशत आर्थिक वृद्धिदर रहने


भीष्मराज ओझा/कृष्णराज गौतम, काठमाडौँ, १३ जेठ । आर्थिक वर्ष २०७५÷०७६ मा सात प्रतिशत आर्थिक वृद्धिदर रहने प्रारम्भिक अनुमान गरिएको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै यस अवधिमा औसत मुद्रास्फीति दर चार दशमलव दुई प्रतिशत रहने जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिभामा सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षणअनुसार चालू आवमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेको उल्लेख गरिएको छ ।

राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारणसमेत अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको हो ।

आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको, कूल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको, विगत धैरै दशकमा पहिलोपटक आन्तरिक बचतले कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको जनाइएको छ । यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुग्नेछ ।

आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको छ । उच्च लगानीका लागि औद्योगिक तथा पूँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको छ । यसबाट शोधनान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको सर्वेक्षणमा उल्लेख छ ।

निरपेक्ष गरिबी १८.७ प्रतिशत

निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसङ्ख्या घटेर १८ दशमलव सात प्रतिशतमा झरेको सर्वेक्षणको अनुमान छ । चालू आवमा प्रतिव्यक्ति आय रु एक लाख १७ हजार पुग्ने अनुमान गरिएको उक्त सर्भेक्षणमा प्रतिव्यक्ति खर्चयोग्य आय रु एक लाख ५५ हजार पुगेको अनुमान गरिएको छ ।

कूल लगानी २९.० प्रतिशतले वृद्धि भई रु २१ खर्ब ५७ अर्ब हुने अनुमान छ । कूल गार्हस्थ्य बचतको वृद्धिभन्दा कूल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ । गत फागुनसम्म कूल सरकारी खर्च आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ४१ अर्ब पुगेको छ ।

त्यस्तै फागुनसम्म सङ्घीय विभाज्य कोष र सङ्घीय सञ्चित कोषमा दाखिला भएको राजस्व रु पाँच खर्ब छ । यो रकम आर्थिक वर्ष २०७४/०७५ को सोही अवधिको तुलनामा २१ दशमलव सात प्रतिशतले बढी हो ।

चालू आवको फागुनसम्म अनुदान रु १३ अर्ब र ऋण रु ९३ अर्ब गरी थप रु एक खर्ब सात अर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ । गत फागुनसम्ममा कूल सार्वजनिक ऋण रु नौ खर्ब ७८ अर्ब छ । यसमध्ये रु तीन खर्ब ८३ अर्ब ५९ करोड आन्तरिक ऋण र रु पाँच खर्ब ९५ अर्ब बाह्य ऋण रहेको सर्वेक्षणमा उल्लेख छ ।

७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा

गत फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुका साथै बैंक तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्या चार हजार ७०१ पुगेको छ । बिमा व्यवसाय गर्ने कम्पनीको सङ्ख्यामा भएको वृद्धिसँगै बिमा व्यवसायको आकार र कारोवारमा विस्तार भएबाट यस आवमाको फागुनसम्म करिब १८ प्रतिशत नागरिकमा बिमाको पहुँच पुगेको छ ।

फागुनसम्ममा कुल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब पुगेको छ भने वस्तु आयात २३.८ प्रतिशतले वृद्धि भई रु.नौ खर्ब ४९ अर्ब पुगेको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा रु. आठ खर्ब ८८ अर्ब रहेको छ ।

त्यस्तै फागुनसम्म शोधनान्तर स्थिति रु.५९ अर्ब घाटामा रहेको छ । यस अवधिमा चालु खाता रु.एक खर्ब ९१ अर्बले घाटामा रहेको छ । विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भई रु. पाँच खर्ब ८२ अर्ब पुगेको छ । यस अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३५ दशमलव नौ प्रतिशतले घटेको छ ।

उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता

फागुनसम्म २१८ उद्योगमा रु ११ अर्ब लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमान छ । स्वदेशी एवं विदेशी लगानीकर्ताको उत्साहमूलक सहभागिताका साथ लगानी सम्मेलन सम्पन्न भएको छ ।

कूल जनसङ्ख्याको ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको छ भने कूल विद्युत् उत्पादन एक हजार १४२ मेगावाट रहेको छ । कूल जनसङ्ख्याको करीब १८ प्रतिशत जनसङ्ख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा पुगेको सर्वेइाणमा जनाइएको छ ।

फागुनसम्म १४ हजार १०२ किमी कालोपत्र, सात हजार ८८१ किमी खण्डाश्मित र नौ हजार ४१० किमी कच्ची सडक गरी कूल सडकको लम्बाइ ३१ हजार ३९३ किमी रहेको छ । हुम्लाबाहेक सबै जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन् ।

राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आवभित्रै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ ।

११ लाख ७३ हजार पर्यटकको आगमन

सन् २०१८ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । हवाईमार्गबाट आउने पर्यटकको अंश ८२ दशमलव आठ प्रतिशत र स्थलमार्गबाट आउने पर्यटकको अंश १७ दशमलव दुई प्रतिशत रहेको छ ।

गत फागुनसम्म करीब छ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको छ भने २६२ सरकारी भवन, चार हजार २०१ विद्यालय भवन, ६४३ स्वास्थ्य संस्था भवन, २२१ पुरातात्विक सम्पदा र १२४ सुरक्षा निकायका भवनको पुनःनिर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

यस अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्घअन्तर्गतका कर्मचारीलाई तीन तहमा समायोजन गरिएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !