२२ पुस, राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ ।
सप्तरीमा गत वर्ष ५०.३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । उहाँका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित र व्यवस्थित गर्नेतर्फ प्राधिकरण लागेको छ ।
स्थानीय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित विद्युत् सेवा पाउने र चुहावटलाई नियन्त्रण गर्ने सकिने उहाँको भनाइ थियो । स्थानीय निकाय ऐनले पनि स्थानीय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकारसमेत रहेकाले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्बाही गर्न सकिने उहाँले बताउनुभयो ।
सप्तरीमा यस वर्ष चुहावट नियन्त्रण गर्ने क्रममा राजविराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कञ्चनपुरलगायत ठाउँबाट गरेको अनुगमनले ७५ वटा मिटरमा कार्बाही गरिएको छ । आव २०७५÷७६ को साउनदेखि हालसम्ममा सो मिटर कार्बाहीबाट रु १३ लाख ४० हजार १४४ असुली भएको उहाँले जानकारी दिनुभयो । यस्तै हुकिङ नियन्त्रण अभियानअन्तर्गत ४०० जनालाई कार्बाही गरिएको छ । सो कार्बाहीबाट रु ५० लाख ६० हजार १५० असुल गरी ६४ लाख २९४ असुली गरेको प्रमुख साहले बताउनुभयो । (रासस)