१३ कात्तिक, काठमाडौँ । धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ ।
शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य रु ११ रहेको छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ ।
त्यस्तै लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैया २५ पैसा रहेको छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल रहेको छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य रु १० रहने गरेको छ तर शेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ ।
सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा रहेको छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब रहेको छ । सो कोषको बजार पूँजीकरण रु ७८ करोड ६४ लाख रहेको छ ।
स्टकका अनुसार ग्लोबल आइएमइ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । रु ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ छ पैसा रहेको छ ।
बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा रहेको छ । रु एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो ।
यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा रहेको छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु पाँच अर्ब ७५ करोड रहेको छ ।
बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब रहेको छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु एक अर्ब ८० करोड रहेको छ ।
सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल रहेको छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ६५ करोड १० लाख रहेको छ । त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम रहेको छ । बजार पूँजीकरण रु ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा रहेको छ ।
एनआइसी एशिया बैंकको प्रवद्र्धनमा रहेको एनआइसी एशिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ७७ करोड ३३ लाख ९५ हजार २०० रहेको छ ।
एनएमबी बैंकको प्रवद्र्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि शेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण रु नौ अर्ब ४२ करोड रहेको छ । लगानीकर्ताको मुख्य आर्कषणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ । सोही बैंकको प्रवद्र्धनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक रहेको छ ।
प्रतिएकाइ रु तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण रु ९९ करोड ३७ लाख ५० हजार रहेको छ । सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १९ करोड ९९ लाख रहेको छ ।
सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको दुई वटा योजनामध्ये एकको प्रतिएकाइ रु एक नाफामा छ भने अर्कोको घाटामा रहेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा रु एक नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १० करोड रहेको छ । यस्तै सिदार्थ इक्विटी फण्डको अवस्था कमजोर रहेको छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने रु एक अर्ब ३८ करोड ४५ लाख रहेको छ ।(रासस)