११ बैशाख २०८१, मंगलबार

जलस्रोतका धनी मुलुक नेपालले गर्यो ३ करोड ६० लाखको पानी आयात


water-in-nepal

श्रावण १६, २०७३- जलस्रोतका धनी मुलुक मध्येमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालीले हरेक वर्ष खाडि मुलुकबाट समेत पानी आयात गरेर बोतलबन्द पानी उपभोग गर्छन् । युरोप–अमेरिकादेखि छिमेकी मुलुकबाट आयात भएको खनिजयुक्त (मिनरल वाटर), ग्यासयुक्त, गुलियोयुक्त र खनिज एवं गुलियोविहीन पानी बजारमा पाइन्छ । पानीको आयात वर्षेनी बढदै गएको सरकारी तथ्याङले देखाउँछ ।

भन्सार विभागको तथ्याङ अनुसार गत आर्थिक वर्ष (२०७२/७३) मा १२ लाख ३८ हजार ६ सय ४२ लिटर पानी आयात भएको छ । आयातकर्ताले भन्सार विन्दुमा घोषणा गरेको मूल्यका आधारमा गत वर्ष ३ करोड ६० लाख ३९ हजार रुपैयाँको पानी आयात भएको हो । आर्थिक वर्ष २०७१/७२ सँग तुलना गर्दा मात्राका हिसाबले गत वर्ष करिब १ सय ७० प्रतिशतले पानी आायत बढ्यो ।

आर्थिक वर्ष २०७१/७२ को तुलनामा गत वर्ष पानीको आयात ७ लाख ७८ हजार ३ सय २५ लिटरले वृद्धि भएको हो । त्यस वर्ष जम्मा ४ लाख ६० हजार ३ सय १७ लिटर पिउने पानी आयात भएको थियो । भन्सार विन्दुमा घोषित मूल्यका आधारमा त्यस वर्ष १ करोड ९९ लाख २७ हजार रुपैयाँको पानी आयात भएको थियो ।

नेपालमा सबैभन्दा धेरै पानी छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ । गत वर्ष साढे ११ लाख लिटरभन्दा बढी पानी भारतबाट आयात भएको हो । यसको मूल्य करिब ३ करोड हुन आउँछ । भारत मात्र होइन, नेपालीले बेलायत र नर्वे जस्ता युरोपेली मुलुकका साथै संयुक्त राज्य अमेरिकाबाट समेत पिउने पानी आयात गर्छन् ।

विभागको तथ्याङ अनुसार शुद्ध पिउने पानीको प्राकृतिक स्रोत एकदमै कम भएका मुलुकबाट समेत नेपालमा पानी आएको छ । नेपालीले संयुक्त अरब इमिरेट्स (युएई) बाट समेत पिउने पानी आयात गरेका हुन् । गत वर्ष युएईबाट १२ हजार ४ सय ४० लिटर पानी नेपाल आयात भएको छ । जसको मूल्य १३ लाख ६८ हजार रुपैयाँ हुन आउँछ ।

यसैगरी नेपालमा चीन र जापान सहित दक्षिण पूर्वी एसियाली मुलुकहरु सिंगापुर, थाइल्यान्ड मलेसिया फिलिपिन्स, भियतनामबाट समेत पिउने पानी आयात भएको सरकारी तथ्याङ छ । गत वर्ष सबैभन्दा धेरै भारत र सबैभन्दा कम पानी फिलिपिन्सबाट आयात भएको थियो ।

नेपालमा विभिन्न मुलुकबाट हुने आयातको तुलनामा नगन्य मात्रामा मात्र पानी निर्यात हुने गरेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ । गत वर्ष नेपालबाट जम्मा २ सय ३० लिटर पानी मात्र निर्यात भएको सरकारी तथ्याङ छ । जसको मूल्य ४९ हजार रुपैयाँको मात्र हुन आउँछ । नेपालबाट भारतमा ३३ हजार रुपैयाँ बराबरको २ सय ८ लिटर, जर्मनीमा १२ हजार रुपैयाँ बरारबको १२ लिटर र अमेरिकामा ४ हजार रुपैयाँ बराबरको १० लिटर पानी निर्यात भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !