कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माण हुन लागेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन एनएमबि बैंक लिमिटेडले गर्ने भएको छ।
२.९ मेगावाट क्षमताको यो आयोजना मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको हो। कुल अनुमानित लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनामा एनएमबि बैंकले एकल ऋण लगानी गर्दै ४६ करोड ३३ लाख २५ हजार रुपैयाँ ऋण उपलब्ध गराउनेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले आयोजना समयमै र निर्धारित लागतभित्र सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन्। जवाफमा कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तीय व्यवस्थापनमा साथ दिएकोमा एनएमबि बैंकलाई धन्यवाद दिँदै आयोजनालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
दाहालले आयोजनालाई स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढाउने बताएका छन्। यसअघि मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको अर्को आयोजना- ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना वि.सं. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ। सो आयोजनामा पनि एनएमबि बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत ऋण लगानी भइरहेको छ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड शोसल रिस्क म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।












