काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
आज आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् । उनले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याइएको बताइन् ।
काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।
आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् । उनले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा भएको समयसीमा भन्दा केही ढिलो भएको स्वीकार गरिन् ।
विगतका दिनमा केही मनमुटावले ढिलो भएको पनि उल्लेख गरिन् । बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको हो ।
उनले ढिलो भए पनि आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद दिइन् । बजेट ल्याउन ढिला भएको भन्दै त्यसमा उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।












