काठमाडौँ । एनएमबि बैंकले आफ्नो बाह्रौं हेरिटेज वाक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गट्ठाघर शाखाबाट सुरु भएको उक्त पदयात्रा शंखधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिरमा पुगेर समापन गरिएको हो ।
‘समृद्ध नेपालको सम्भावनासहित ऐतिहासिक र सामाजिक रूपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि’ भन्ने उद्देश्यले कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ । नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा गरिएको यस कार्यक्रममामा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका प्रतिनिधि, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी तथा सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ सहभागी थिए । कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले सम्पदा संरक्षणमा निजी क्षेत्रको सहभागिता बढ्न थालेकोमा खुसी व्यक्त गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई सम्पदा तथा वातावरण संरक्षणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ भने नगरपालिकालाई सार्वजनिक स्थानमा राख्ने डस्टबिन पनि हस्तान्तरण गरेको छ ।
एनएमबिले यो कार्यक्रम देशका सातै प्रदेशमा विस्तार गरेको जनाएको छ । कोशीमा झापाको पाथिभरा मन्दिर, मधेशमा सन्कराचार्य गेट, बागमतीमा बालकुमारी–बोडे मार्ग, गण्डकीमा पोखराको राममन्दिर, लुम्बिनीमा मोक्षधाम सेवा आश्रम, कर्णालीमा काक्रेबिहार मन्दिर र सुदूरपश्चिममा गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक गरिएको छ ।












