
काठमाडौं । नेपाली बजारमा बिहीबार आज चैत २८ गते सुनको मूल्यमा भारी वृद्धि भएर हालसम्मकै उच्चविन्दुमा पुगेको छ । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार सात रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । हिजो चैत २७ गते बुधबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत चैत २१ गते बिहीबार १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएर उच्चतम रेकर्ड बनेको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेसँगै सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको हो । ट्रम्पले भन्सार दर स्थगन गरेपछि लगानीकर्ताले फेरि सुनलाई नै सुरक्षित देखेर लगानी बढाएकाले भाउ बढेको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३१०० डलर नाघेको छ । सुनसँगै ठूला सेयर बजारमा समेत वृद्धि देखिएको छ ।