
काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गर्याे । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र सान तथा मझैला उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउँछ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यवसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।
उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ESDD), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनःस्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो । यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै बैंक र यसका ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।
एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।