७ पुस २०८१, आइतबार

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण


अस्थायी आवास हस्तान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् ।

बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए ।

नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए । १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो ।

नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बैंकले गरेको थियो ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !