काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरखसम्शेर राणा नियुक्त भएका छन् । राजा वीरेन्द्रमा ज्वाइँ समेत राणा स्ट्यान्डर्ड चार्टर्डको सीईओ नियुक्त भएका हुन् ।
हिजो सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो ।
राणा यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए । राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओ नियुक्त हुने पहिलो नेपाली बनेका छन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।
उनी विगत ३१ वर्षदेखि बैंकिङ सेवामा छन् । २०५० सालमा तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मा सहायक स्तरको सेवा सुरु गरेका थिए । राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ ।
उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् । वीरेन्द्रकी छोरी श्रुती राज्यलक्ष्मी शाहसँग उनले विवाह गरेका थिए । श्रुतिको भने दरबार हत्याकाण्डका क्रममा मृत्यु भएको थियो ।