१० असार २०८१, सोमबार

बजेट वक्तव्य : दलित समुदायलाई पहिलोपटक बजेट


संसदमा बजेट वर्षमान पुन

काठमाडौँ । सरकारले दलित समुदायको लागि पहिलो पटक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमानले आज सङ्घीय संसद्को सुंयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै दलित समुदायको रोजगार सिर्जना गर्न “दलित विकास प्राधिकरण” स्थापनाका लागि रु २० करोड विनियोजन गरिएको बताएका छन् ।

दलित समुदायका लागि बजेट छुट्याइनु सकारात्मक भएको दलित अधिकारकर्मीहरुको प्रतिक्रिया छ । अधिकारकर्मी गणेश विकले दलित लक्षित बजेट उल्लेख गरिनु सकारात्मक कदम भएको बताए । उनले यो पर्याप्त भने नभएको प्रतिक्रिया दिए । विकले संविधानको मर्मअनुसार दलित अपेक्षित बजेट अझै आउन बाँकी रहेको बताए । “केही नहुनुभन्दा २० करोड पनि ठीकै हो”, उनले भने,“तर, यतिले मात्रै दलित समुदायको गहिरो घाउ निको पार्न सक्दैन ।”

आगामी आव २०८१/८२ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दलित समुदायको संविधान प्रद्धत अधिकारको प्रत्याभूति गर्न सशक्तीकरण कार्य गर्ने संरचना एकीकृत गरी दलित उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्थापन गरिने बताउनुभएको छ । साथै दलित समुदायको रैथाने, सीप, ज्ञान र पेसाको आधुनिकीकरण गरी रोजगार सृजना, जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रु २० करोड विनियोजन गरिने उल्लेख गरेका छन् ।

अधिकारकर्मी धनकुमारी सुनारले घोषणा भएको बजेट राजीतिकरण नभई कार्यक्रम सञ्चालन गर्न पाए लाभदायी हुने बताए । लेखक एवं अभियन्ता सुशील विकले बजेटले भूमिहिन दलितको कुरा समेट्न नसकेको धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !