१८ असार २०८१, मंगलबार

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री डा. महत


डा. प्रकाशशरण महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या-४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्था लिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीररुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’

उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा. महतले बताए ।

उनले भने, ‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ । पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’

साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भने ।

युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा. महतले बताए । ‘महिला दिदीबहिनी समाजको महत्वपूर्ण अंग बनेको स्मरण गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !