१५ असार २०८१, शनिबार

डिजेल र मट्टीतलेको मूल्य घट्यो


पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेल र मट्टीतलेको मूल्य घटाइएको निगमले जनाएको छ ।

निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने छ ।

सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्ने छ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ पर्ने छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।

यद्यपि आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

यस्तो छ निगमले निकालेको प्रेस विज्ञप्ति

नेपाल आयल निगमले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !