काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक जारी रहेको हो ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।
हिजोबाट सुरु भएको बजेटमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहेको हो । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एवं प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।
अर्थमन्त्री शर्माले संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले हिजो जेठ १७ गते, आज १८ गते र भोलि १९ गतेको दिन तोकेका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेअनुरुप एमालेका सांसदहरु हिजोदेखि संसदमा खरो भएर उत्रिएका छन् ।