काठमाडाैं । एभरेष्ट पेरेन्ट्रल्स प्रालिले लार्ज भोल्युम पेरेन्ट्रल्स, स्मल भोल्युम पेरेन्ट्रल्स, आँखा–कानको ड्रपहरुको उत्पादनलाई एउटै छतमुनि ल्याएको छ । देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कम मूल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा यसको स्थापना भएको हो ।
प्रदेश नम्बर २ को बारा जिल्लाअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको छाता पिपरा, वडा नं ९ मा अवस्थित एभरेष्ट पेरेन्ट्रल्स प्रालि औषधि उद्योगले ठूलो आशा र सम्भावना बोकेको छ ।
प्लान्ट डब्ल्युएचओजीएमपी मापदण्डको पालना गर्दै स्थापना गरिएको हो। यो ८५ हजार वर्गफिट जग्गामा ७८ हजारभन्दा बढी क्षेत्रमा निर्माण भएको छ । यस उद्योगमा आधुनिकतम प्रयोगशाला, उच्च प्रविधिको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेको छ ।
पहिलो चरणको कोभिड कालमा भीटीएम किटको अभाव भएको बेला ‘एभरेष्ट पेरेन्ट्रल्स प्रालिले कोभिड–१९ कोरोना भाइरस महामारीको परीक्षणमा प्रयोग हुने सीडीसी गाइडलाइनअनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट बनाएको थियो ।
रानासरिया ग्रुपले सन् २०१५ मा आफ्नै देशमा नेपाली जनताका लागि केही नयाँ र फरक गर्नु छ भनेर यस महेश रानासरियाले उद्योग स्थापना गरेका थिए।
औषधिहरुका लागि नेपाल विदेशमा निर्भर छ, त्यस्ता औषधिहरु नेपालमा नै बनाएर परनिर्भरता न्यून गर्नुपर्ने कम्पनीको भनाइ छ । नेपालीहरुलाई सर्वसुलभ रूपमा उच्च गुणवत्ताको औषधि सस्तो मूल्यमा पाउनुपर्छ ।
महेश रानासरियाले २०१५ मा उनले एभरेष्ट पेरेन्ट्रल्स प्रालिको नामले औषधि उद्योगको सुरुवात गरे । उनी र उनको टिमको अथक प्रयासले एभरेष्ट पेरेन्ट्रल्स प्रालिले दर्जनौँ गुणस्तरीय उत्पादनहरुबाट नेपाली औषधि बजारमा एउटा अलग पहिचान कायम गरेको छ ।
यस उद्योगले पहिलोपल्ट नेपालमा यूरो हेडको अत्याधुनिक प्रविधि ल्याएको छ । यसले गर्दा संक्रमणको खतरा एकदम पनि नरहने उमङ्ग रानासरियाले जानकारी गराए ।
उनले भने, ‘यस प्रविधिको उपयोगले उत्पादको मूल्य अलि बढ्दो रहेछ, तर हाम्रो लागि यो व्यापार मात्र नभएर जिम्मेवारी र सेवा पनि रहेकोले हामी उच्च गुणवत्तालाई सर्वोपरी राखेर अगाडि बढी रहेका छौँ ।’
यस उद्योगको लार्ज़ भोल्युमअन्तर्गत यूरो पोर्ट स्ट्राइल पोर्ट स्लाइन पानी २ हजार बोतल प्रतिघण्टा, युरो पोर्ट र स्ट्राइल पोर्ट फ्लेक्सी ब्यागको स्लाइन पानी २५०० ब्याग प्रतिघण्टा र स्मल भोल्युमअन्तर्गत ग्लास एम्पुल १४ हजार एम्पुल प्रतिघण्टा, ग्लास भायल ७ हजार सिसी प्रतिघण्टा, इयर ड्रप र आई ड्रप १४ हजार सिसी प्रतिघण्टाको उत्पादन क्षमता छ ।
सीईओ रानासरियाले विश्वास व्यक्त गर्नुभयो कि निकट भविष्यमा हामी जुन औषधि अहिले परराष्ट्रहरुबाट आयात गरिरहेका छौँ, स्वदेशमा नै बनाएर र जुन बनिरहेको छ, त्यसको उत्पादन बढाएर परनिर्भरता न्यून गर्न सक्छौँ र यसको आयातमा खर्च गर्नुपर्ने नेपाली मुद्रा पनि जोगाउन सक्छौँ ।
आफ्नो उद्योगमा उत्पादित औषधिहरुबाट नेपालमा हुने खपतलाई परिपूर्ण गरेर निर्यात गरेर राष्ट्रलाई गौरवान्वित बनाउने र विदेशी मुद्रा नेपालमा ल्याउने पनि लक्ष्य उमङ्ग रानासरियाको छ ।
यसले आयात घाटालाई पनि केही हदसम्म कम गर्ने कम्पनीको दाबी छ । उनका अनुसार कम्पनीले २५० जनालाई प्रत्यक्ष रूपमा र अरु धेरैलाई अप्रत्यक्ष रूपमा रोजगारी अवसर प्रदान गरेको छ । निकट भविष्यमा यस संख्यामा निकै वृद्धि हुने सम्भावना रहेको छ ।