काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंमा नयाँ नोट वितरण नहुने जनाएको छ । आज आइतबार नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै कोरोना भाइरसको महामारीका कारण यो वर्षको दसैंमा नयाँ नोट वितरण नहुने जनाएको हो ।
नयाँ नोट सटहीका क्रममा भीडभाड हुनसक्ने र कोरोना संक्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ । बैंकले बडा दशैं लगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।
नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ ।