५ जेष्ठ २०८१, शनिबार

पात्लेखेतमा मोटरबाटो निर्माण


मार्ग

गलेश्वर, १४ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि देश लकडाउनमा छ । सर्वसाधारण व्यवसाय, अध्ययन, नोकरीलगायतका काम छाडेर घरभित्रै बसेका छन् तर म्याग्दीका एक गाउँका युवाहरु भने कोरोना सङ्क्रमणको सतर्कता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । यसको उदाहरण हो म्याग्दीको बेनी नगरपालिका–१० स्थित पात्लेखेत गाउँ ।

यहाँका युवाहरूले लकडाउनको समयको सदुपयोग गर्दै सुरक्षित तरिकाले करिब पाँच किलोमिटर मोटरबाटो निर्माण गरेर गाउँलाई विकाससँग जोडेका छन् । बेनी नगरपालिका–१० पात्लेखेत नेपानेका बासिन्दाले आफ्नो गाउँँमा मोटरबाटो निर्माण गरेका हुन् ।

गाउँको पुछारगाउँँमा मोटरबाटो नपुगेपछि थाप्लोमा भारी बोकेर गाउँँमा उत्पादित कृषिजन्य वस्तु बेनीबजारसम्म ल्याउनुपर्ने बाध्यताका बीच उनीहरूले मोटरबाटो निर्माण गरेर उदाहरणीय काम गरेका हुन् । मोटरबाटो निर्माणका लागि बेनी नगरपालिकाको रु चार लाख र पात्लेखेत नेपाने धैरेनी उपभोक्ता समितिको रु एक लाख रकम सङ्कलन गरी निर्माण सम्पन्न गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समित रोकाले जानकारी दिनुभयो । अध्यक्ष रोकाका अनुसार प्राकृतिक स्रोतसाधनलाई नष्ट नगरी मोटरबाटो निर्माण गरिएको छ ।

मोटरबाटो निर्माणपछि पात्लेखेतमा उत्पादन भएका तरकारी, फलफूललगायतका चिजलाई बजारसम्म पु¥याउन सहज हुनुका साथै दुःख बिमार पर्दा र अन्य कामका लागि पनि निकै सहज हुने अध्यक्ष रोकाले बताउनुभयो । “हामीले लकडाउनको समयलाई उपयोग गरी निकै सतर्कताका साथ मोटरबाटो खनेका हौँ”, अध्यक्ष रोकाले भन्नुभयो । स्काभेटरका साथमा दुई साथी हेरालु बसेर बाटो निर्माण गरिएको रोकाको भनाइ छ ।

अन्नपूर्णमा ५० श्ययाको क्वारेन्टाइन, स्वास्थ्यकर्मीलाई भत्ता
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले काठमाडौँलगायत बाहिरी जिल्लाबाट गाउँपालिकामा भित्रिने मानिसको सङ्ख्या बढ्दै गएपछि ५० श्ययाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । बाहिरी जिल्लाबाट आफ्नो गाउँमा आएकालाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राख्नका लागि गाउँपालिकाले आफ्नै पहलमा ५० श्ययाको क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।

गाउँपालिकाभित्रका स्वास्थ्य संस्था र क्वारेन्टाइनको रेखदेखमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको पनि व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । यसका साथै लकडाउनलाई पनि थप कडाइ गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी शनिबार बसेको कार्यपालिकाको बैठकले विभिन्न छ निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र प्रवेश गर्ने सवारीसाधनको निगरानीलाई थप कडा बनाउने, बेनी–जोमसोम सडकखण्डअन्तर्गत महभिरको पुलमा अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी साधानलाई प्रवेश नदिइने निर्णय गरेको प्रमुख प्रशासकीय अधिृकत नवीन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार वडा नं २ भुरुङ तातोपानीस्थित सर्वोदय माविमा स्थापना गरिएको क्वारेन्टाइनको क्षमता वृद्धि गरी कम्तीमा ५० श्यया क्षमताको बनाउने, बाहिरी जिल्लाबाट गाउँपालिकामा भित्रिने सबैलाई अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राख्ने, फिबर क्लिनिक, स्वास्थ्य जाँचमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत भएको छ । निर्णयानुसार विभिन्न क्वारेन्टाइनमा भुरुङका वडाध्यक्ष ओमप्रसाद फगामी र सवारी साधन आवतजावतमा वडा नं ७ हिस्तानका अध्यक्ष गमबहादुर फगामीको संयोजकत्वमा समितिसमेत बनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !