१२ असार २०८१, बुधबार

लकडाउन : व्यस्त सडकमा ‘ओभर ले’


सडकमा ‘ओभर ले’

काठमाडौँ, ८ वैशाख । अरु समयमा उच्च सवारी चापका कारण काम गर्न कठिन हुने काठमाडौँका मुख्य सडकमा ‘लकडाउन’ को मौका छोपी निर्माण शुरु भएको छ । त्रिपुरेश्वर, पुतलीसडक, गौशाला लगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको हो ।

काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको हो । विभिन्न सडकमा ह्युमपाइप राख्नका लागि खन्न थालिएको छ । ती स्थानमा ह्युमपाइप राखिएपछि कालोपत्र गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

निर्माण सामग्री उपलब्ध हुन सके आगामी १५÷२० दिनमा उपत्यकामा बाँकी काम गर्न सकिने डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार गौशाला–विमानस्थल सडकमा ‘ओभर ले’ शुरु भइसकेको छ । त्रिपुरेश्वलगायतका सडकमा ह्युमपाइपका लागि खन्न शुरु गरिएको छ ।

गौशाला–चावहिल सडकमा भने खानेपानीको पाइप राख्ने र सडक निर्माण दुवै काम एउटै ठेक्काबाट अघि बढेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र डिभिजनले एउटै ठेक्कामा दुवै काम गरिरहेको हो । उहाँले भन्नुभयो, “पुराना पाइपहरुमा चुहावट देखिएकाले सकिन अझै केही समय लाग्न सक्छ ।”

काठमाडौँका व्यस्त सडकमा अरु समयमा काम गर्न गाह्रो हुने र अहिले पनि कामदार निर्माणस्थलमै रहेको भन्दै सडक विभागले गत साता विपद् व्यवस्थापन समितिलाई निर्माणका लागि अनुमति मागेको थियो । समितिले अनुमति दिएपछि नै जिल्ला प्रशासन कार्यालयले निर्माणका लागि आवश्यक सहयोग गरिरहेको छ । निर्माण सामग्री ल्याउनका लागि सवारी पास उपलब्ध भएकोे डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजनले लकडाउन पहिले नै यी सडक निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको थियो । ती निर्माण व्यवसायी अहिले सम्पर्कमा आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले पनि आवश्यक सामग्री उपलब्ध हुँदा काम गर्ने बताइरहनुभएको छ ।”

यी सडक निर्माणका लागि निर्माण कम्पनीसँग जनशक्ति पर्याप्त भएको प्रमुख नेपालीले बताउनुभयो । मजदूर अन्यत्रबाट ल्याउन नपर्ने भए पनि केही प्राविधिक जनशक्ति भने थप आवश्यक पर्न सक्छ । आवश्यक निर्माण सामग्री भने पाइने÷नपाइने टुङ्गो छैन । अहिले बाँकी रहेको निर्माण सामग्रीबाट चारपाँच दिन मात्रै काम गर्न सकिने उहाँले बताउनुभयो ।

काठमाडौँका निर्माणाधीन सडकका लागि आवश्यक निर्माण सामग्री लिन ट्रकहरु खोला र क्रसतर्फ गएको डिभिजन प्रमुख नेपालीले बताउनुभयो । काभ्रेको रोशी खोला र ललितपुरको टीकाभैरव खोलाबाट निर्माण सामग्री ल्याइनेछ । त्यहाँका स्थानीय तहले निर्माण सामग्री ल्याउनका लागि अनुमति दिँदा मात्रै निर्माण सामग्री ल्याउन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यसका लागि पनि सक्ने समन्वय गरिरहेका छौँ ।”

चालु आवमा अहिलेसम्म झण्डै २८ किमी सडकमा ‘ओभर ले’ भइसकेको छ । ‘ओभर ले’ भएको सडकमा चिह्नसमेत लगाइएको थियो । सडक चिह्न लगाउँदा कम जनशक्तिले सामाजिक दूरी कायम गरेर काम गर्न सकिन्छ भन्ने देखिएकैले डिभिजन कार्यालयले ‘ओभर ले’ पनि गर्न लागेको हो ।

लकडाउनका कारण सबै विकास निर्माण ठप्प हुँदा काठमाडौँका मुख्य र सहायक सडकमा चिह्न लगाइएको थियो । ती सबै स्थानमा सामाजिक दूरी कायम गरेर काम भएको डिभिजन कार्यालयले जनाएको छ । धेरै जनशक्ति र उपकरण नचाहिने हुँदा यो समयमा समेत काम गरिएको हो ।

कतिपय सडकमा एकातर्फको लेनमा ‘ओभर ले’ भए पनि अर्कातर्फ हुन सकेको थिएन । काम शुरु नगर्दै लकडाउन घोषणा भएकाले निर्माण व्यवसायीले काम अघि नबढाएका हुन् । डिभिजनले सडकका दुवै लेनमा ‘ओभर ले’ भएका सडकमा मात्रै सडक चिह्न लगाएको प्रमुख नेपालीले बताउनुभयो । लकडाउनका समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका सडक चिटिक्क देखिएका छन् ।

एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । लकडाउनमा काम गर्दा कतै अवरोध आउँछ कि भन्ने अन्योल भए पनि अहिले यो कामले धेरैको प्रशंसा पाइरहेको छ । सडक चिह्नका कारण यात्रु र चालकसँगै ट्राफिक प्रहरीलाई समेत सडक व्यवस्थापन गर्न सजिलो हन्छ ।

काठमाडौँ उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न सडक र पुलमा समेत सडक निर्माण भइरहेको छ । उपत्यका बाहिर महेन्द्र राजमार्ग, त्रिभुवन राजमार्ग, कोशी राजमार्गलगायत अरु विभिन्न सडकमा निर्माणको काम लकडाउनमा समेत रोकिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !