एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

गलेश्वर, १६ भदौ । म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् । निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग ‘पिपिए’ गरिएका साना र ठूला गरी १२ जलविद्युत् आयोजनामध्ये अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, छ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका–६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले जानकारी दिनुभयो ।

त्यसैगरी सोही गाउँपालिका–४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरि प्रथम, ६२ मेगावाटको निलगिरि दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणका लागि छुट्टै प्रवेशमार्ग निर्माण भइरहेको नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताउनुभयो । नारच्याङमै २० मेगावाट क्षमताको निलगिरि ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएको छ । प्रस्तावित १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीसँग संयुक्त लगानीका लागि सम्झौता भइसकेको उहाँले जानकारी दिनुभयो ।

वडा नं ३ स्थित दानामा चार मेगावाट क्षमताको रुप्सेखोला, ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी, वडा नं २स्थित तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविद्युत् आयोजना सञ्चालन गर्न विद्युत् विकास विभागसँग ‘पिपिए’ भइसकेको उक्त गाउँपालिकाले जनाएको छ ।

गलेश्वरधाममा करोडौँका पूर्वाधार

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढाइएको भेटी र दाताको सहयोगबाट रु नौ करोडका विभिन्न पूर्वाधार निर्माण गरिएका छन् ।

मन्दिरमा चढाइएको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथि आवास गृह, संस्कृत पाठशाला, हवनकुण्डलगायत संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुदबहादुर केसीले बताउनुभयो ।सो स्थानमा प्रकट भएको शिवलिङ्ग, चक्रशिलामा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहेकाले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पण्डित भीमनाथ आचार्यले बताउनुभयो ।

विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नै रु २० लाखको लागतमा मन्दिर निर्माण गर्नुभएपछि गलेश्वरधाममा विकासले गति लिँदै आएको छ । यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरधामले स्वदेशी तीर्थयात्रीका साथै विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । (रासस)