२६ पुस २०८१, शुक्रबार

वारीबेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन


Nepalpatra

१३ असोज, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाको नदीले कटान गरेको सडक मर्मत गरेर अस्थायी रूपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय जलजला वडा नं ३ का वडाध्यक्ष रवि भण्डारीले जानकारी दिनुभयो ।
वारीबेनीदेखि बगरफाँटको बीचमा पर्ने करीब २० मिटर सडक कालीगण्डकीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सडक सञ्चालनमा आएपछि जलजला–१ बाँसखर्क, २ माझफाँट र ३ बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा चाडबाडको बेलासँगै लाभान्वित बनेका छन् ।
यो सडक हुँदै बाँसखर्कबाट वार्षिक रु पाँच करोडको सुन्तला निर्यात हुँदै आएको छ । कटानकै कारण नदी किनारमा रहेको बगरफाँट र बारीबेनी बस्ती जोखिममा रहेका छन् ।

नागरिक, यात्रु सहायता कक्ष स्थापना

नेपालीहरूको महान पर्व दशैँ तथा तिहार नजिकिँदै जाँदा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरुको असुविधालाई मध्यनजर गर्दै पर्वत सदरमुकाम कुश्मा बजारको शिवालयचोकमा शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा सहायकता कक्षा स्थापना गरेका हुन् । चाडबाडको आवागमनसँगै सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्रु ठगिने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउनका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !