३० साउन, बेनी । सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ ।
वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको रु सात लाख नगद र जनश्रमदानमा प्रवेशद्वार बनाइएको हो । प्रवेशद्वार निर्माणमा पात्लेखर्क, घ्यासीखर्क, खरिबोट, चौरखानी, मङ्गलेखानीलगायतका क्षेत्रका स्थानीयले समेत नगद सहयोग गरेका थिए । धौलागिरि हिमालको फेदीमा रहेको धार्मिकस्थल ऋखार क्षेत्रमा भक्तजनलाई आकर्षित गर्न प्रवेशद्वार निर्माण गरिएको समितिका अध्यक्ष चित्र छन्त्यालले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी हँुदै तीन दिनको यात्रापछि ऋखारमा पुग्न सकिन्छ । धौलागिरि आधार शिविर नजिक पर्ने ऋखारमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ ।(रासस)